close

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

Trulli
ADVERTISEMENT

मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ ।

यो पर्व आज पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्नेछन् भने एघारौँ दिन पूर्णिमाका रात सामा चकेवालाई  विसर्जन गरिन्छ । दस दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाहरूले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेल्ने गर्दछन् । 

आजको दिन बिहानै दिदीबहिनीहरूले समूहमा गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर दाजुभाइको हातबाट खनिएको माटो ल्याएर गिलो पारी विभिन्न प्रकारका कलात्मक सामा चकेवा बनाएका छन् । सामा चकेवा बेलुका सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङ्गहरू भरेर रङ्गीचङ्गी बनाइन्छ । रङ्गिसकेको सामा चकेवा रातिको बेला रातो रङ्गको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चौक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कुल, धर्मशाला, मन्दिर र छठ घाटमा समेत लगेर १० दिनसम्म नाचगान गर्दै चेलीबेटीहरूले सामा चकेवा खेल खेल्छन् ।

समूहगत रुपमा चेलीबेटी तथा छोरीबुहारीहरु ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चंपा फूल लगाइदिय’ ‘सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’लगायत गीतहरू गाएर सामा चकेवा खेल्ने तथा समूहमै सबै दाजुभाइको दीर्घायुको कामना गर्ने गर्दछन् । 

एघारौँ दिनमा बिहानै दिदीबहिनीले पुनः सामा चकेवा  बनाएर रङ्गरोगन गरी बेलुका दही चिउरा खुवाउँछन् र त्यसबाटै दाजुभाइको फार भराउने तथा दाजुभाइबाट सामा चकेवा फुटाउन लगाएर  बाजागाजासहित नाचगान गर्दै गाउँको नजिक जोतिएको खेतमा लगेर विसर्जन गर्दछन् ।

मिथिलाञ्चलमा छठ पर्वको सन्ध्याकालीन अर्घ्य दिनुभन्दा एक दिनपूर्व आज देखि सामा चकेवा पर्वको आगमन हुन्छ भने छठको तयारीसँगै यस पर्वका लागि पनि दिदीबहिनीहरूले जोरजाम गर्ने गर्दछन् । यस पर्वमा स–साना नानीहरु बढी उत्साहित हुने गर्दछन् भने उमेर नाघेका महिलासमेत पर्वको रमझममा हराउन पुग्छन् ।