close

भाइटीकाको शुभ साइत १०:५१ बजे, कता फर्केर लगाउने ?

भाइटीकाको शुभ साइत १०:५१ बजे, कता फर्केर लगाउने ?

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । 

यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।

दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले  अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिए । 

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान १०:५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । 

यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व  फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । दिदीबहिनीले दाजुभाइलाई आशीर्वाद दिने भएकाले यसरी बस्नुपर्ने धर्मशास्त्रविद् भट्टराईले बताए ।