close

रंगशालालाई प्रदेशको ३ करोड, धुर्मुस भन्छन्ः ७ करोड ऋण छ, हिम्मत हार्दैनौँ

रंगशालालाई प्रदेशको ३ करोड, धुर्मुस भन्छन्ः ७ करोड ऋण छ, हिम्मत हार्दैनौँ

Trulli
ADVERTISEMENT

मकवानपुर - बागमती प्रदेश सरकारले चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंशागाला निर्माणका लागि तीन करोड रुपैयाँ दिएको छ ।

 

रंगशाला निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउण्डेसनलाई प्रदेश सरकारले उक्त रकम हस्तान्तरण गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा बुधबार आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)लाई तीन करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्

 

प्रदेश मन्त्रिपरिषद्को बैठकले केही समयअघि रंगशाला निर्माणका लागि तीन करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । कोरोना महामारीका कारण रंगशाला निर्माणमा जटिलता उत्पन्न भएको भन्दै प्रदेश सरकारले रकम सहयोग गरेको मुख्यमन्त्री पौडेलले जानकारी दिए ।

 

चेक बुझ्दै धुर्मुस र सुन्तलीले उत्साहका साथ रंगशाला निर्माण गरिरहेको बताए । सहयोगी मनहरूले सहयोग गरिरहेको भए पनि कोरोना महामारीले परिस्थिति जटिल बनाएको कट्टेलको भनाइ थियो । ‘अवस्था समस्याजनक छ तर पनि काम गर्दै छौँ । बजारमा सात करोड तिर्न बाँकी छ तर पनि हामीले हिम्मत हारेका छैनौँ’, कट्टेलले भने ।

 

सबैले विश्वास गरेकै कारण रंगशाला निर्माणलाई अगाडि बढाउन सकेको उनको भनाइ छ । उनले रंगशाला निर्माणमा हाल २३३ जनशक्तिले काम गरिरहेको जानकारी दिए ।

 

मुख्यमन्त्री पौडेलले रंगशाला निर्माण परियोजना छिटो सक्नका लागि शुभकामना दिए । प्रदेश सरकारले रंगशाला निर्माणका लागि आगामी दिनमा पनि सहयोग जारी राख्ने पौडेलले प्रतिबद्धता जनाए । ‘अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला गौरवको आयोजना हो । सरकारले सहयोग गरिहन्छ । आगामी वर्षलाई पनि सरकार छ भन्ने सम्झिनू’, पौडेलले भने ।

 

प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सरकारका तर्फबाट हुने सहयोगमा कुनै कमी नआउने विश्वास दिलाए । सहयोग रकम हस्तान्तरण कार्यक्रममा प्रदेशका प्रमुख सचिव डा. मानबहादुर बिक, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्लेलगायत सहभागी थिए ।