close

कर्णाली प्रदेश प्रमुख कलौनी जुम्लामा

कर्णाली प्रदेश प्रमुख कलौनी जुम्लामा

Trulli
ADVERTISEMENT

जुम्ला- कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी जुम्ला आएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठाको अवस्थाबारे जानकारी लिएका छन् । प्रदेश प्रमुख कलौनीले प्रतिष्ठानको अवलोकनपछि आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै प्रतिष्ठानले आफ्नो १० वर्षे कार्यकालमा स्वास्थ्य सेवा विस्तार, दक्ष जनशक्ति उत्पादन तथा अध्ययन अनुसन्धानका क्षेत्रमा उपलब्धि हासिल गर्न सफल भएको प्रदेश प्रमुख कलौनीले बताए । 


कोभिड रोकथाम तथा नियन्त्रणदेखि दुर्गममा स्वास्थ्योपचार तथा विशेषज्ञ विषयका पढाइ तथा कर्णालीलाई स्वास्थ्यको हबका रूपमा चिनाउन प्रतिष्ठानले योगदान गरेको उनको भनाइ छ । 


उनले भने, ‘दुर्गम कर्णालीका हुम्ला, डोल्पा, मुगुलगायत सुदूरपश्चिमसहित १३ जिल्लामा सुलभ तथा गुणस्तरीय स्वास्थ्य पुर्‍याउन प्रतिष्ठान सफल भएको छ । कर्णाली स्वास्थ्यको हब हो । जस्तोसुकै उपचार कर्णालीमै हुन्छ भन्ने सन्देश दिन प्रतिष्ठानका पदाधिकारी, डाक्टर सबै जनशक्तिले दिएको योगदान प्रशंसनीय छ ।’


स्वास्थ्य सेवा प्रवाह तथा उपचारमा प्रतिष्ठान अब्बल भएको भन्दै प्रदेश प्रमुख कलौनीले कोरोनाजस्ता अन्य महामारीमा उपचारसँगै जनचेतनाका कार्यक्रममा समेत जोड दिन सुझाए । 


कर्णाली प्रतिष्ठान समग्र कर्णालीसँगै देशकै भरोसाको केन्द्र भएकाले पनि स्वास्थ्य सेवामा गुणस्तरीयता तथा विश्वसनीयतामा ध्यान पुर्‍याउनुपर्ने आवश्यकता औँल्याए । जनशक्ति, भौतिक संचरनालगायत अन्य समस्या समधानका लागि तीन तहका सरकारसँग अवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता जनाए । 


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले दुर्गममा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, दक्ष जनशक्ति उत्पादन र अध्ययन अनुसन्धानलाई विशेष प्राथमिकता दिएर प्रतिष्ठानले काम गरिरहेको जानकारी दिए । 


शिक्षाध्यक्ष थापाले भने, ‘हामीले वर्षमा ६० हजार बढी किरामीको उपचार गरिरहेका छौँ । सिनेटले प्रतिष्ठानमा ६ सय ७४ जना जनशक्ति रहने निर्णय गरे पनि हालसम्म कार्यरत ३ सय ४२ जना मात्रै छौँ । कम जनशक्ति, भौतिक संरचना अभाव, बत्ती, इन्टरनेट, फोहोरमैला व्यवस्थापन अभावका बीच पनि प्रतिष्ठानले नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ ।’ 


पर्याप्त बिजुली नभएकै कारण जेनेरेटर सञ्चालनका लागि ७० लाख रुपैयाँसम्म इन्धन खर्च हुने गरेको छ । बिजुली अभावकै कारण मेसिनरी उपकरण सञ्चालनमा पनि उत्तिकै समस्या छ । पर्याप्त भवन नहुँदा बाहिरबाट आउने डाक्टलाई बस्ने क्वार्टर छैन । कर्णाली प्रतिष्ठानका यी समस्या समाधानका लागि प्रदेश प्रमुख कलौनीले संघ र प्रदेश सरकारसँग आवश्यक पहल गर्ने विश्वास शिक्षाध्यक्ष थापाको छ । 


कोभिड रोकथाम तथा नियन्त्रणका लागि चाहिने आइसोलेसन, आइसियु, भ्यान्टिलेटर, अक्सिजन प्लान्ट, अक्सिजन सिलिन्डरलगायत औषधी उपकरण सबै पर्याप्त रहेकाले बिरामीको उपचारमा कुनै समस्या नरहेको बताइएको छ । हाल प्रतिष्ठानमा करिब ७६ जना विभिन्न विषयका विशेषज्ञ डाक्टरले नियमित सेवा प्रवाह गरिहेका छन् ।