close

नवौं राष्ट्रिय खेलकुद : १५ स्वर्णसहित सेना शीर्षस्थानमा

नवौं राष्ट्रिय खेलकुद : १५ स्वर्णसहित सेना शीर्षस्थानमा

Trulli
ADVERTISEMENT

कास्की । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा हालसम्म विभागीय नेपाली सेनाले पदकमा बर्चस्व कायम गरेको छ। हालसम्म ३० स्वर्ण पदकको छिनोफानो हुँदा सेनाले १५ स्वर्ण, ११ रजत र १० कास्यसहित ३६ पदक जितेको छ।

यसैगरी, बागमती प्रदेशले छ स्वर्ण, पाँच रजत र दुई कास्यसहित १३ पदक जितेर सेनालाई पछ्याइरहेको छ। सशस्त्र प्रहरीको एपीएफ चार स्वर्ण, छ रजत र नौ कास्यसहित १९ पदक लिएर पदक तालिकाको तृतीय स्थानमा छ। आयोजक गण्डकी प्रदेशले हालसम्म दुई स्वर्ण, दुई रजत र छ कास्यसहित १० पदक जितेको छ।

यस्तै, नेपाल प्रहरीले दुई स्वर्ण, एक रजत र तीन कास्यसहित छ पदक तथा सुदूरपश्चिम प्रदेशले एक स्वर्ण र तीन कास्यसहित चार पदक जितेको छ। लुम्बिनी प्रदेशले चार रजत, एनआरएनएले एक रजत र  प्रदेश नम्बर १ ले पाँच कास्य पदक जितेका छन्। प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनको एक गरी ११ टोलीको सहभागिता रहेकामा कर्णाली प्रदेश र मधेस प्रदेशले पदकको खाता खोल्न सकेका छैनन्।

नवौं राष्ट्रिय खेलकुदको यही असोज २८ गते भव्य उद्घाटन गरिएको हो। प्रतियोगिता आगामी कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ। कतिपय खेल उद्घाटनअगावै सञ्चालन गरिएको थियो। गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा प्रतियोगिताअन्तर्गतका खेल जारी छन् भने केही खेल सुरु हुँदैछन्।