close

अन्तर नगरपालिकास्तरीय महिला दौडको उपाधि चन्दननाथकी पूर्णलक्ष्मीलाई

अन्तर नगरपालिकास्तरीय महिला दौडको उपाधि चन्दननाथकी पूर्णलक्ष्मीलाई

Trulli
ADVERTISEMENT

चन्द्रागिरि नगरपालिकाले ‘अन्तर नगरपालिका राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिता’ अन्तर्गत पाँच किमी जुनियर पुरुष टिममा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । 

सोही प्रतियोगिताको १० किमी सिनियर महिला टिमतर्फ चन्द्रागिरिले दोस्रो स्थान हासिल गरेको छ । शनिबार एथलेटिक्स परिवार नेपालको आयोजना तथा चन्द्रागिरि नगरपालिकाको सहआयोजनामा पहिलो पटक यहाँ सञ्चालित प्रतियोगितामा विभिन्न ४० नगरपालिकाको सहभागिता रहेको थियो । जुनियर टिममा एक सय ५० जना तथा सिनियर टिममा ९८ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । 

उक्त प्रतियोगितामा पाँच किमी महिला जुनियर व्यक्तिगततर्फ तारकेश्वर नगरपालिकाकी अस्मिता भुजेल प्रथम र पाँच किमी महिला जुनियर व्यक्तिगततर्फ पोखरा महानगरपालिकाका कृषबहादुर परियार प्रथम भएका थिए । 

त्यस्तै १० किमी महिला सिनियर व्यक्तिगततर्फ चन्दननाथ नगरपालिकाकी पूर्णलक्ष्मी न्यौपाने प्रथम र १० किमी पुरुष व्यक्तिगततर्फ हलेसी नगरपालिकाका गजेन्द्र राई प्रथम भए । १० किमी सिनियर टिम महिलातर्फ भोजपुर नगरपालिका प्रथम, चन्द्रागिरि नगरपालिका द्वितीय भएको थियो भने १० किमी पुरुषतर्फ हलेसी नगरपालिका प्रथम भएको थियो । पाँच किमी जुनियर टिम महिलातर्फ भोजपुर नगरपालिका प्रथम र पाँच किमी पुरुषतर्फ चन्द्रागिरि नगरपालिका प्रथम भएको थियो । 

कार्यक्रममा प्रतियोगिताका संयोजक तथा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गी र प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले चन्द्रागिरि नगरपालिकाले खेलकुदको प्रवर्द्धन गर्न उच्च प्राथमिकता दिएको बताउनुभयो ।