close

काठमाडौं महानगरद्वारा तीन हजारभन्दा बढी कुकुरको बन्ध्याकरण

काठमाडौं महानगरद्वारा तीन हजारभन्दा बढी कुकुरको बन्ध्याकरण

Trulli
ADVERTISEMENT

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले विगत दुई महिनाको अवधिमा तीन हजार ४६९ सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ ।

सामुदायिक कुकुर नियन्त्रण गर्ने उद्देश्यले कामपाले गत असोज दोस्रो सातादेखि बन्ध्याकरण अभियान सुरु गरेको थियो । कुकुर व्यवस्थापन हुन नसकेको गुनासो आउन थालेपछि कामपाले बन्ध्याकरण र रेबिजविरुद्ध खोप अभियान सुरु गरेको हो ।    

कामपा कृषि विभाग प्रमुख डा अवधेश झाका अनुसार यसै अवधिमा पाँच हजार ३२० वटा कुकुरलाई रेबिजविरुद्धको खोपसमेत  दिइएको छ । कामपा–४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ बाट उक्त अभियान सुरु गरेको हो । अभियानअन्तर्गत आगामी पुस पहिलो सातासम्ममा पाँच हजार आठ सय कुकुरको स्थायी बन्ध्याकरण र १६ हजारलाई रेबिजविरुद्ध खोप दिने तयारी छ । 

भिन्न नौ सङ्घसंस्थाको सहकार्यमा गरिएको उक्त कार्य दैनिक दुई सय कुकुरको बन्ध्याकरण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । यसका लागि दैनिक ५० जनाको विभिन्न समूह खटिएको छ ।  

हाल कामपामा २२ हजार सामुदायिक कुकुर रहेको अनुमान गरिएको छ । बिहान दिउँसो अथवा उज्यालोमा भन्दा बढी साँझ र बेलुकी सामुदायिक  कुकुर बढी आक्रामक हुने गर्दछन् ।

रोगी अपाङ्गता भएका वा अन्य समस्या भएपछि घरपालुवा कुकुरलाई मालिकहरुले घर निकाला गर्ने सडकमा ल्याई छाड्ने चलन र सडकमा रहेका कुकुरको अनियन्त्रित प्रजननले गर्दा पछिल्लो समय सामुदायिक कुकुरको सङ्ख्या बढ्ने गरेको बताइएको छ ।