close

हुम्ला विमानस्थलको धावन मार्ग कालोपत्रेले टल्किँदै

हुम्ला विमानस्थलको धावन मार्ग कालोपत्रेले टल्किँदै

Trulli
ADVERTISEMENT

हुम्ला- जिल्लाको सिमकोट विमानस्थलमा पुनः कालोपत्रे सुरु गरिएको छ । गत १५ असोजदेखि विमानस्थलको रनवे क्षेत्रमा कालोपत्रे सुरु गरिएको हो । ६५० मिटर लम्बाइ र २० मिटर चौडाइको सिमकोट विमानस्थलमा सहज यात्रु आउजाउका लागि पुनः कालोपत्रे गर्न थालिएको हो । 


विमानस्थलको जहाज पार्किङ १०० मिटर र हेलिप्याड ४० मिटर क्षेत्र, हेलिप्याडलगायत कालोपत्रे गरिनेछ । ‘रनवेको करिब ४०० मिटर भागमा कालोपत्रे सकिएको छ । बाँकी भाग १५ दिनभित्र सक्ने गरी काम भइरहेको छ’, विमानस्थलका इन्जिनियर अजयकुमार गुप्ताले भने ।

 

विमानस्थलको रनवेमा कालोपत्रे सकिएपछि हेलिप्याड, एप्रोन तथा पार्किङ क्षेत्रमा पनि गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।विमानस्थलमा यसअघि कालोपत्रे गरिए पनि रनवेको केही भाग उप्किएका कारण पुनः दुई इन्चको कालोपत्रे गरिएको हो ।


‘प्रत्येक दिन बिहान ६ देखि १० बजेसम्म जहाजले उडान भर्ने हुँदा त्यसपछिको समय धमाधम कालोपत्रे भइरहेको छ’, इन्जिनियर गुप्ताले भने । निर्धारित समयमै निर्माण कम्पनीले आवश्यक सामग्री उपलब्ध गराएपछि कामले गति लिएको उनले बताए ।


अलकत्राको कामका लागि तराईबाट कामदार ल्याएर विमानस्थलमा कालोपत्रे हुँदै आएको निर्माण कम्पनी क्याराभान, गाल्भा जेभीका स्थानीय प्रतिनिधि विजय लामाले बताए । 

 

नेपालगञ्जबाट हवाई जहाजमा अलकत्राका लागि आवश्यक सामग्री ढुवानी गरेर ल्याइएको र अन्य सामान स्थानीय रूपमै तयार गरिएको थियो । विमानस्थल कालोपत्रे गर्न नौ करोड ९७ लाख रुपैयाँ बजेट छुट्याएको छ ।