close

जिप्रकामा बन्यो पालिका स्तम्भ पार्क

जिप्रकामा बन्यो पालिका स्तम्भ पार्क

Trulli
ADVERTISEMENT

लमजुङ- जिल्ला प्रशासन कार्यालय लमजुङको परिसरमा पालिका स्तम्भ पार्क निर्माण गरिएको छ । जिल्ला प्रशासन कार्यालयलाई सेवाग्राहीमैत्री, प्रविधिमैत्री बनाउने अवधारणाका साथ लागिपरेको प्रशासनले कार्यालय परिसरमा पालिका स्तम्भ पार्क निर्माण गरेको हो । 


मध्यनेपाल नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको पालिका स्तम्भ पार्कको बिहीबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । प्रविधिमैत्री समयमा प्रविधिलाई उच्चतम प्रयोग गरेर नौलो काम गरेको मुख्यमन्त्री गुरुङले बताए ।


मुख्यमन्त्री गुरुङले नागरिकले सुसूचित हुन पाउने, आफ्नो समस्या सुनाउन पाउने, आफ्नो माग राख्न पाउने अधिकारसँग संघीयता जोडिएको धारणा राखे । ‘संघीयताका कारण सरकार जनताको नजिक छ । जनताले नजिकबाट सेवा पाएका छन्’, उनले भने, ‘संघीयता नहुँदो हो त अहिले केन्द्रमा सरकारबीच खटपट भएवा सरकार यताउता भए जनताले झनै दुःख पाउँथे । अहिले आफ्नो सरकार आफ्नै घरआँगनमा छ । यो संघीयताले ल्याएको हो ।’ 


संघीयता खर्चिलो भयो भन्नेले संघीयताको मर्म र फाइदा नबुझेको उनको टिप्पणी थियो ।


प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई संघीय संरचनाबारे जानकारी गराउन पालिका स्तम्भ पार्क निर्माण गरिएको बताए । उनले संघीय नेपाल, गण्डकी प्रदेश र स्थानीय तहकै मार्बल नक्सा बनाएर राखिएको जानकारी दिए । 


पालिका स्तम्भ पार्कमा संघीय संरचनाअनुसार ७७ वटै जिल्लाको नाम स्पष्ट देखिने गरी आधुनिक नेपालको नयाँ नक्सा, गण्डकी प्रदेश, लमजुङ जिल्लाको नक्सासहित जिल्लाका ८ वटै पालिकाको नक्सा निर्माण गरेर राखिएको छ । यसका लागि ७ लाख रुपैयाँ खर्च भएको उनले बताए ।


पार्कमा राष्ट्रिय गान र नेपालको झण्डासहितको पृष्ठभूमि तयार पारिएको छ । पालिका स्तम्भ पार्क अवलोकनबाट जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले लमजुङ जिल्लाको समग्र वस्तुस्थितिका बारेमा जानकारी लिन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताए । 


जिल्ला प्रशासन कार्यालय लमजुङले कार्यालयलाई प्रविधिमैत्री, सेवाग्राहीमैत्री बनाउँदै लैजानका लागि जिल्लामा रहेका पालिकासँग समन्वयमा काम गर्दै आइरहेको छ । पछिल्लो समय प्रशासन कार्यालय प्रविधिमैत्री र सूचनामैत्री बनेसँगै नागरिकले सहजताको अनुभूति गर्न पाएको अर्का सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताए ।