close

४ लाखको सिँचाइ आयोजना ४ वर्षदेखि अलपत्र

४ लाखको सिँचाइ आयोजना ४ वर्षदेखि अलपत्र

Trulli
ADVERTISEMENT

नवलपरासी– पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर २ मा ४ लाख रुपैयाँ खर्चेर बनाइएको सिँचाइ योजना ४ वर्षदेखि अलपत्र परेको छ । पश्चिमाञ्चल सिँचाइ डिभिजनले सिँचाइका लागि खर्चेको ४ लाख रुपैयाँको योजना (बोरिङ) अलपत्र बनेको हो ।


अहिले उक्त बोरिङ छेउछाउमा झार उम्रिएको छ भने त्यहाँ रहेका पाइपमा खिया लागेको छ । देवचुली नगरपालिकाकाले पोल र ट्रान्समिटर मर्मतका लागि वडाबाट दिएको १ लाख रुपैयाँले न बिजुली आयो, न त ट्रान्समिटर मर्मतै भयो ।

 

४ वर्षअघि समिति बनाई बोरिङबाट पानी निकालिए पनि अहिले सञ्चालनविहीन छ । बोरिङ सञ्चालन र निर्माणका लागि स्थानीय यमनाथ बस्ताकोटीको अध्यक्षतामा समिति गठनसमेत गरिएको थियो । तर, समितिले सिँचाइका लागि चासो नदिँदा निर्माण भएको बोरिङबाट समेत सिँचाइ गर्न नसकिएको स्थानीयको गुनासो छ ।

 

‘निर्माण भएको करिब ४ वर्ष भयो तर बोरिङबाट सिँचाइ गर्नै पाएका छैनौँ’, स्थानीय टीकाराम पौडेलले भने । उनका अनुसार बोरिङ निर्माणपछि सबैलाई सिँचाइ सुविधा पुग्ने भनिए पनि कृषि गर्न मिनेटको हिसाबले पानी किन्नु परेको छ ।

 

‘सिँचाइका लागि ४ लाख रुपैयाँ बजेट खर्चेको छ । नगरपालिकाको १ लाख रुपैयाँ बजेट खर्च भएको छ तर हामीले यसको उपयोग गर्न पाएका छैनौँ’, स्थानीय पौडेलले भने ।

 

बोरिङ निर्माण समिति अध्यक्ष यमनाथ बस्ताकोटीले भने स्थानीयले पानीका लागि चासो नदिँदा बोरिङ सञ्चालन नभएको दाबी गरे । ‘बुटवलबाट परेको योजना हो । निर्माण भयो तर यसको प्रयोग यहाँका स्थानीयले गर्न चाहेनन्’, अध्यक्ष बस्ताकोटीले भने । वडाध्यक्ष माधव केसी बोरिङमा बिजुलीका लागि नगरपालिकाबाट १ लाख रुपैयाँ पाए पनि हावाहुरीले पोल ढलाउँदा बिजुलीसमेत पनि नभएको बताउँछन् ।


उनले भने, ‘पहिले बोरिङ सञ्चालनका लागि थ्रीफेज र ट्रान्समिटर जडान गरिएको थियो । तर, हावाहुरीले पोल ढलायो र ट्रान्समिटर बिग्रियो । बिग्रिएको ट्रान्समिटर मर्मतका लागि भरतपुर पठाएका छौँ । केही दिनमै जडान गरी सञ्चालन गर्छौं ।’

 

देवचुली नगरपालिकालाई यस विषयमा जानकारी नै नभएको नगरप्रमुख पूर्णकुमार श्रेष्ठले बताए । उनले भने, ‘यो विषयमा अहिलेसम्म लिखित निवेदन आएको छैन । यदि निवेदन आए हामी अनुगमन र निरीक्षणमा जान्थ्यौँ ।’ बोरिङ सञ्ञ्चालन हुन सके ४० बिघा क्षेत्रफलमा सिँचाइ हुने स्थानीय बताउँछन् ।