close

वर्षौंदेखि अलपत्र उपत्यकाका यी सडक (भिडियो खबर)

वर्षौंदेखि अलपत्र उपत्यकाका यी सडक (भिडियो खबर)

ADVERTISEMENT

काठमाडौं- देशको संघीय राजधानी काठमाडौं भन्नेबित्तिकै जोकोहीलाई लाग्न सक्छ, सेवा-सुविधाले सम्पन्न सहर हो । तर, उपत्यकाका केही क्षेत्रमा भने वर्षाैंदेखि सडक कालोपत्रे नहुँदा नगरबासीले सास्ती भोग्दै आएका छन् । 


कतै सडकका बीच भागमा गिटी थुपारिएका छन् त कतै माटोको पहाड लगाइएको छ । ढलका खाल्डा ह्वांगै छन्। कतै ढलै निर्माण गरिएको छैन । 

 

अहिले पानी पर्ने मौसम होइन, तैपनि पानी जमेका खाडलका कारण सडक पोखरीजस्तै देखिन्छन् भने कतै धुलोको सास्ती उस्तै । उपत्यकाको चक्रपथबाहिर जोरपाटी-सुन्दरीजल, चाबहिल-साँखु, इमाडोल-सिद्धिपुर, गोदावरी खोला, लुभु, लामाटार, कर्मनाशा खोला, हरिसिद्धि, गोदावरी कुण्डलगायत सडक खण्डका स्थानीयले वर्षाैंदेखि धुलोधुँवाको नियति भोग्दै आएका छन् । 


स्थानीयले सडक कालोत्रेको माग गर्दै दर्जनौँ पटक आन्दोलन गरे पनि सुनुवाइ भएन । सरकारले विस्तार गर्ने बहानामा चक्रपथबाहिरका सडक क्रमशः भत्कायो तर कालोपत्रे हुनै सकेन । 


जोरपाटी-सुन्दरीजल

 

७ किलोमिटरको जोरपाटी-सुन्दरीजल सडक निर्माणका लागि आशीष-सीएम जेभीसँग २०७३ सालमै २ वर्षभित्र काम सक्ने गरी सम्झौता भएको थियो । सम्झौताको ४ वर्ष बित्यो तर सडकको अवस्था फेरिएन । २०७५ साल असोजमा काम सक्ने गरी करिब ५४ करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो ।


सडक अस्तव्यस्त हुँदा सवारीसाधन जाम हुने समस्या दिनहुँ बढ्दै छ । ठेकदारको ढिलासुस्ती र सरकारको बेवास्ताका कारण स्थानीयले सास्ती खेप्नु परेको छ । जोरपाटीका स्थानीय रामलाल श्रेष्ठ भन्छन्, ‘निर्माणका लागि सडक खनेको ५ वर्ष भयो । काम कहिल्यै सक्दैनन् । सडकमा सामान थुपारिएको छ, काम भने हुँदैन । ’


चैतभित्रै कालोपत्रे हुन्छ : प्रवक्ता ढुंगाना 

 

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाले चैतभित्रै जोरपाटी-सुन्दरीजल सडक कालोपत्रे गरिने बताएका छन् । उनले भने, ‘अहिले सडक रेखांकन, ढल हाल्ने काम भइरहेको छ । रेखांकनको काम भइसकेको ठाउँमा सडक कालोपत्रेका लागि बेस हालिसकेका छौँ । ८० प्रतिशत काम सम्पन्न भएको छ । चैतसम्म सबै सकिन्छ ।’


घरको मुआब्जाका कारण समयमा सडक बन्न नसकेको उनको दाबी छ । उनका अनुसार अहिले पनि स्थानीयले मुआब्जा पाएका छैनन् । तर, उनीहरूकै स्वीकृति र स्वेच्छाले धमाधम सडक विस्तारको काम भइरहेको छ ।

 

असरल्ल चावहिल-साँखु सडक

 

जोरपाटी-साँखु सडक निर्माण गर्ने काम पनि आश्वासनमै सीमित बनेको छ । सडक विस्तार योजनामध्ये यो सडकको हालतले पनि धेरै कुख्याति कमाएको छ ।


१२ किलोमिटर लम्बाइको यो सडक चौडा विस्तार गरेर ४ लेन फराकिलो बनाउने, सडकका दुवैतर्फ फुटपाथ र २-२ मिटर अपांगमैत्री संरचना बनाउने गरी २२ मिटर चौडा बनाउन २०७२ सालमै सम्झौता भएको थियो ।

 

सडक विस्तार आयोजनाका अनुसार १ अर्ब ७५ करोड रुपैयाँ लगानीमा यो काम गर्ने सम्झौता भएको हो ।

 

सडक निर्माणका लागि युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स, वज्रगुरु-च्याङमिलारखानी जेभी, वज्रगुरु-बिरुवाखानी जेभी र बिटी-सुनकोसी र वर्लडवाइड जेभी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । पछि लामा र समानान्तर जेभी कम्पनी पनि यही सडक निर्माणमा थपिएको छ ।

 

ठेक्का सम्झौताअनुसार २०७४ सालसम्म सडक विस्तार सम्पन्न गर्नुपर्ने थियो तर सडक कालोपत्रे हुनै सकेन । 

 

इमाडोल-सिद्धिपुर,गोदावरी खोला-लुभु-लामाटार सडक

 

इमाडोल-सिद्धिपुर-गोदावरी खोला- लुभु लामाटार सडक विस्तारका लागि ३ चरण गरी ठेक्का सम्झौता भएको छ । पहिलो करिब ३ किलोमिटर सडक निर्माणका लागि २० जेठ २०७७ मा सम्पन्न गर्ने गरी २७ करोड ३ लाख रुपैयाँ ठेक्का रकममा २६ जेठ २०७३ मा डाँफे-समानान्तर जेभीसँग ठेक्का सम्झौता भएको थियो । तर, ठेक्का म्याद सकिँदासम्म पनि कामै हुन सकेन ।


दोस्रो चरणको काम गर्न करिब ३ किलोमिटर सडक निर्माणका लागि २९ चैत २०७६ मै सम्पन्न गर्ने गरी ११ करोड ४८ लाख रुपैयाँ ठेक्का रकममा ३० असार २०७४ मा आशीष/सीएम ड्रागन जेभीसँग ठेक्का सम्झौता भएको थियो ।

 

समयमा काम हुन नसकेपछि फेरि म्याद थप्ने प्रक्रियामा छ । तेस्रो चरणको ४ किमि सडक निर्माणका लागि २८ पुस २०७७ मा सम्पन्न गर्ने गरी ५४ करोड ५० लाख रुपैयाँमा ३० असार २०७४ मा लामा÷समानान्तर जेभीसँग ठेक्का सम्झौता भएको थियो । काम नभएपछि यसको पनि म्याद थप्ने प्रक्रियामा छ । 

 

कर्मनाशा खोला-हरिसिद्धि-गोदावरी कुण्ड सडक


यो सडक खण्ड हुँदै पर्यटकीय स्थल गोदावरी पुगिन्छ । तर, सडक बेहाल अवस्थामा पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकले यात्रामा सास्ती खेपिरहेका छन् ।

 

यो सडकलाई पनि २ चरणमा विभाजन गरेर विस्तार गर्ने ठेक्का सम्झौता भएको छ । पहिलो चरणअन्तर्गत कर्मनाशा खोलादेखि करिब ४ किलोमिटर सडक विस्तार गर्न आशीष-सीएम जेभीले ठेक्का पाएको छ । 


३ असार २०७३ मा २९ करोड ९ लाख रुपैयाँ ठेक्का रकममा २०७७ माघमा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर, कामले गति लिन सकेन । पुनः म्याद थप्ने प्रक्रियामा छ ।


त्यस्तै, दोस्रो चरणको करिब ३ किमि सडक निर्माणका लागि लामा÷समानान्तर जेभीले ठेक्का पाएको छ । ३० असार २०७४ मा ३८ करोड ६ लाख रुपैयाँ ठेक्का रकममा २०७७ कात्तिकमा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर, काम सम्पन्न नभएपछि पुनः म्याद थप्ने प्रक्रियामा छ । 

 

सडक विस्तार आयोजनाका अनुसार पहिलो चरणको भौतिक प्रगति ३५ प्रतिशत छ भने दोस्रो चरणको ५५ प्रतिशत मात्रै । कर्मनाशा खोला-हरिसिद्धि, गोदावरी कुण्ड सडक र इमाडोल-सिद्धिपुर-गोदावरी खोला, लुभु-लामाटार सडक २०७८ असार मसान्तसम्म काम सम्पन्न गर्ने सडक विस्तार आयोजनाको लक्ष्य छ ।