close

बेँसीसहरका २९ सडक कालोपत्रे (भिडियाे खबर)

बेँसीसहरका २९ सडक कालोपत्रे (भिडियाे खबर)

ADVERTISEMENT

लमजुङ- लमजुङको बेँसीसहर नगरपालिकाले ३ वर्षको अवधिमा २९ वटा शाखा रोड कालोपत्रे गरेको छ । नगरपालिकाले लागत साझेदारीमा नगरभित्रका शाखा सडक कालोपत्रे गरेको हो ।

 

नगरपालिकाको ६० प्रतिशत र उपभोक्ताको ४० प्रतिशत लगानीमा नगरभित्रका शाखा सडक कालोपत्रे गरिएको हो । हालसम्म नगरपालिकाले ३ दशमलव ६ किलोमिटर सडक कालोपत्रे गरेको जनाएको छ । 

 

आर्थिक वर्ष २०७४/७५ मा लमजुङका ८ वटा, ७५/७६ मा १४ वटा र ७६/७७ मा ७ वटा शाखा सडक कालोपत्रे गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले ७४/७५ मा १ दशमलव ५ किलोमिटर, २०७५/७६ मा १ दशमलव ४७ किलोमिटर र २०७६/७७ मा ० दशमलव ९९ किलोमिटर सडक कालोपत्रे गरेको छ ।

 

सडक कालोपत्रेमा नगरपालिकाले झन्डै ४ करोड रुपैयाँ बजेट लगानी गरेको छ । नगरपालिकाले शाखा सडक कालोपत्रे गर्न २०७४/७५ मा १ करोड ५० लाख, २०७५/७६ मा १ करोड ६३ लाख ८३ हजार ३ सय १४, २०७६/७७ मा ४३ लाख ९७ हजार ८ सय ६१ रुपैयाँ खर्च गरेको छ ।

 

साझेदारीमा काम गर्दा उपभोक्ताको अपनत्व हुने भ्रष्टाचार र अनियमितता नहुने भएकाले लागत साझेदारीमा काम गरिएको नगरप्रमुख गुमानसिंह अर्यालले जानकारी दिए ।


नगरपालिकाले चालू आर्थिक वर्षमा पनि ५ वटा शाखा सडक लागत साझेदारीमा कालोपत्रे गर्ने योजना बनाएको छ । सडक कालोपत्रे गर्न चालू आर्थिक वर्षमा नगरपालिकाले ५४ लाख ९८ हजार ३ सय ६९ रुपैयाँ बजेट विनियोजन गरेको छ । 

 

केही योजना सम्झौता भएर काम सुरु भइसकेको छ भने केही योजना सम्झौता हुन बाँकी रहेको नगरपालिकाले जनाएको छ । स्थानीय सरकार आएपछि लामो समयदेखि कालोपत्रे हुन नसकेका शाखा सडक कालोपत्रे हुँदा स्थानीय खुसी लागेको स्थानीय बुना रिमाल सुनाउँछिन् ।

 

बेँसीसहरका हरेक शाखा सडक, गल्ली कालोपत्रे भएपछि सहरको सौन्दर्य झनै बढेको छ । यसले पनि स्थानीय सरकार जनताप्रति उत्तरदायी छ भन्ने आभाष नागरिकले गरिरहेका छन् ।

 

नगरभित्रका हरेक गाउँलाई सडकसँग जोड्ने र बिग्रिएका सडकको स्तरोन्नति गर्दै कालोपत्रे गर्ने योजना नगरपालिकाले बनाएको छ ।