close

मोटर गुड्ने सडकमा निर्माण सामग्रीको बिस्कुन

मोटर गुड्ने सडकमा निर्माण सामग्रीको बिस्कुन

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- रुकुम पूर्वको मुख्य बजार सिस्ने गाउँपालिका वडा नम्बर ६ स्थित रुकुमकोटमा निर्माण सामग्री जथाभावी राखिँदा बजार क्षेत्र अस्तव्यस्त बन्दै गएको छ ।

 

मुख्य बजार रुकुमकोटसँगै अन्य सडकमा पनि जथाभावी निर्माण सामग्री राखिन थालेपछि सडक अस्तव्यस्त बन्दै गएको हो ।


घर तथा अन्य पूर्वाधार निर्माण गर्ने गिटी, ढुंगा बालुवा, सरियालगायत सामग्री सडकमा जथाभावी राखेकै कारण सवारी साधन तथा पैदल यात्रीले सास्ती बेहोर्दै आएका छन् ।

 

सरोकारवाला निकायले जथाभावी रूपमा राखिएका बालुवा, ढुंगा र गिटीलगायत निर्माण सामग्रीले दुर्घटनाको जोखिम पनि त्यत्तिकै बढेको स्थानीय गुनासो गर्छन् । 

 

भर्खरै बजारीकरण हुँदै गरेकाले पनि यहाँ पैदल हिँड्नका लागि सडकमा फुटपाथ बनाइएको छैन । सडकमा निर्माण सामग्री जथाभावी राख्दा सास्ती भोग्नु परेको स्थानीय विमला विकले बताइन् ।

 

बजार अस्तव्यस्त बन्दा पनि सम्बन्धित निकायको ध्यान नगएको उनको भनाइ ।

 

घर निर्माण गर्नेहरूले सडकै बन्द गर्ने गरी निर्माण थाल्दा आउजाउमा समस्या हुनुका साथै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ । 


बजार व्यवस्थापन समितिले यस तर्फ चासो देखाएको छैन भने बजार क्षेत्र स्वच्छ र सफा बनाउनतर्फ कसैको ध्यान नपुगेको नागरिकको गुनासो छ ।

 

सहायक बजारमा पनि बाटो मिचेर निर्माण सामाग्री राखिएका कारण मोटरसाइकल चालकलाई झनै समस्या भएको छ । 

 

प्रमुख जिल्ला अधिकारी राजकुमार राई यसका लागि बजार व्यवस्थापन समिति, यातायात व्यवसायीसँग र स्थानीय तहसँग समन्वय गर्ने पहल भइरहेको बताउँछन् ।

 

अस्तव्यस्त बजारलाई व्यवस्थित गर्न सरोकारवाला निकायसँग समन्वय गरेर थप कदम चालिने प्रजिअ राईले जानकारी दिए ।