close

नाम मात्रको प्रविधिमैत्री कार्मारोङ: पालिकाको डाटा इन्ट्री गर्न धाउनुपर्छ सदरमुकाम

नाम मात्रको प्रविधिमैत्री कार्मारोङ: पालिकाको डाटा इन्ट्री गर्न धाउनुपर्छ सदरमुकाम

Trulli
ADVERTISEMENT

मुगु- मुगुको मुगुम कार्मारोङ गाउँपालिकालाई प्रविधिमैत्री घोषणा गरिसकिएको छ । तर, पालिकामा इन्टरनेटले काम नगर्दा सेवा प्रवाहमा समस्या आएको छ । गाउँपालिकामा जडित वल्र्डलिंकको टावरले काम नगर्नु र क्षमता पनि कम भएकाले पालिकाको सेवा प्रवाह असहज भएको हो । 

 

पालिकाको प्रशासनिक काम बढीजसो इन्टरनेटबाटै गर्नु परेकाले प्रविधिले धोका दिएपछि गाउँपालिकाका कर्मचारी र सेवाग्राही दुवैलाई सास्ती भएको छ । 

 

गाउँपालिकाका विषयगत शाखामा इन्टरनेटमार्फत काम गर्नुपर्ने र तीमध्ये स्वास्थ्य शाखा, प्रशासन, लेखा र पञ्जीकरणमा इन्टरनेट आवश्यक पर्ने गर्छ । तर, इन्टरनेटले काम नगर्दा गाउँपालिका र सेवाग्राही दुवैले सास्त बेहोर्नुपरेको गाउँपालिकाको पञ्जीकरण सेवा इकाइका एमआईएस अपरेटर अर्जुन बुढाले बताए । 

 

‘यो शाखामा इन्टरनेटमार्फत सामाजिक सुरक्षा भत्ता, जन्म, मृत्यु, विवाह, बसाइँसराइलगायत गाउँपालिकाबाट प्रवाह हुने सेवा डाटा इन्ट्री गर्नुपर्छ । तर, इन्टनेटर चल्दैन’, बुढाले भने ।

 

गाउँपालिकामा इन्टरनेटले गतिलोसँग काम नगरेपछि पालिकाबाट एक दिनको पैदल यात्रा गरेरै सदरमुकाम गमगढी बजार पुग्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।


गाउँपालिकामा सुविधासम्पन्न भवन निर्माण भए पनि गतिलोसँग इन्टरनेटले काम नगर्दा कर्मचारीले सास्ती खेपिरहेका छन् । भौगोलिक विकटताका कारण विकासबाट पछाडि परेको मुगुमा हालसम्म व्यवस्थित सञ्चार सुविधा छैन ।

 

सदरमुकाम गमगढी बजारदेखि करिब १ दिनको बाटो टाढा रहेको मुगुम कार्मारोङ हालसम्म शिक्षा, स्वास्थ्य, सञ्चारलगायत पूर्वाधार निर्माण हुन सकेको छैन ।