close

सडक कालोपत्रे बनिसक्यो, खोला–खहरेमा पुल नबन्दा सास्ती

सडक कालोपत्रे बनिसक्यो, खोला–खहरेमा पुल नबन्दा सास्ती

Trulli
ADVERTISEMENT

उदयपुर– सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको मदन भण्डारी लोकमार्गको पूर्वी खण्ड उदयपुरभित्रका विभिन्न खोला–खहरेमा पुल निर्माण नहुँदा यात्रुले सास्ती बेहोर्नुपरेको छ ।

 

लोकमार्गअन्तर्गत सिन्धुलीको भीमानदेखि उदयपुरको चौदण्डीगढी नगरपालिकासम्म १ सय १२ किलोमिटर सडक कालोपत्रेको काम सकिएको छ । तर, सडक कालोपत्रे भए पनि सडकमा पर्ने १३ वटा खोला–खहरेमा पुल नबन्दा यात्रुले सास्ती बेहोर्नुपरेको हो ।

 

भित्री मधेसका जिल्लालाई सहज रूपमा यातायातको पहुँच पु¥याउने उद्देश्यसहित पूर्व झापाको शान्तिनगरदेखि पश्चिम डडेलधुरासम्म जोड्ने गरी निर्माणाधीन मदन भण्डारी लोकमार्गको पूर्वी खण्डले उदयपुरको बेलका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिका तथा उदयपुरगढी गाउँपालिकालाई छोएर गएको छ ।

 

कटारीबाट सिन्धुलीको दुधौली र कमलामाई नगरपालिका हँुदै हेटौंडा जोडिने लोकमार्गलाई भित्री मधेसको लाइफलाइनका रूपमा चित्रित गरिएको छ । 
सर्वसाधारणको प्रश्न छ, सडक कालोपत्रे भयो, सडकमा पर्ने पुल बन्ने कहिले बन्ने हो ? ।

 

सो लोकमार्गअन्तर्गत उदयपुर खण्डमा १२ खहरे खोलामा पुल निर्माण हुन नसक्दा यात्रुले सास्ती खेप्नुपरेको छ ।

 

अहिलेसम्म ७ वटाको डिजाइन स्वीकृत भएको र अरू ५ वटा पनि स्वीकृतिको क्रममा रहेकाले बढीमा अबको ३ महिनाभित्र डिजाइन स्वीकृत गरेर सबै पुलको निर्माण एकैसाथ सुरु हुने मदन भण्डारी लोकमार्ग आयोजना कार्यालय ललितपुरका इन्जिनियर शिव तिमल्सिनाले जानकारी दिए ।

 

सिन्धुलीको भीमानदेखि चौदण्डीगढी नगरपालिका वीरेन्द्रचोकसम्मको १ सय ३४ किलोमिटरमध्ये १ सय १२ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । सो सडक खण्डमा पर्ने ४३ खोला–खहरेमा पक्की पुल निर्माण भइसकेको छ । 

 

लोकमार्ग निर्माणको प्रारम्भिक सर्वेक्षणमै छुटेका १२ वटा खोलामा पुल निर्माण नहुँदा अहिले सडक चिल्लो भए पनि यात्रुले ठाउँ–ठाउँमा सास्ती खेप्नुपरेको हो । 
योजना कार्यालयका अनुसार छुटेका १२ पुलको निर्माणका लागि ठेक्का लगाइसकेकाले अबको ३३ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।

 

सो आयोजनाअन्तर्गत उदयपुरको बसाहादेखि सिन्धुलीको भीमानसम्मको सडक खण्डमा अहिलेसम्म ४३ वटा मोटेरेबल पक्की पुल र १ सय १२ किलोमिटर सडकमा कालोपत्रे गर्ने काम सम्पन्न गरिएको छ । 

 

तर, विभिन्न खोलाका १२ वटा पक्की पुल निर्माण गर्नुपर्नेमा हालसम्म चौदण्डीगढी नगरपालिकाको बसाहास्थित लामा खोला र ज्यामिरे खोलाबाहेक अन्य खोलामा अझै पुल निर्माणको काम सुरु हुन नसकेको गाईघाटस्थित योजना कार्यालयका इन्जिनियर शंकर पौडेलले बताए ।

 

पुलसँगै निर्माण गरिने करिब १५ किलोमिटर एप्रोच सडकबाहेक सो लोकमार्गको बसाहा–भीमान खण्डमा पर्ने १३५ किलोमिटर सडक कालोपत्रेको गरिए पनि त्यस क्षेत्रमा छुटेका १२ वटा खोलामा पुल नबनाइँदा बर्खाका बेला यातायात अवरुद्ध हुँदा यात्रु सास्ती खेप्न बाध्य छन् । 

 

लोकमार्ग निर्माणको प्रारम्भिक सर्वेक्षणमै छुटेका १२ पटा पक्की पुल ३३ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी १ अर्ब ४२ करोड ७० लाख २७ हजार ५० रुपैयाँको लागतमा ३ वटा छुट्टाछुट्टै प्याकेजमा ३ तीन वटै फरक– फरक कम्पनीसँग ठेक्का सम्झौता गरी १ वर्ष पहिला पुल निर्माण अगाडि बढेको थियो । 

 

तर, अहिलेसम्म डिजाइन स्वीकृतिमै समय बिताएको मदन भण्डारी लोकमार्ग आयोजना कार्यालय ललितपुरका इन्जिनियर शिव तिमल्सिनाले जानकारी दिए ।

 

इन्जिनियर तिमल्सिनाका अनुसार पहिलो प्याकेजका पधेरे खोला, सुखानी २ खोला, थनाहा खोला, थपर खोला र रातु खोला गरी ५ वटा पुल निर्माणका लागि कुल ५४ करोड ३७ लाख २० हजार ६ सय रुपैयाँको लागतमा सम्पन्न गर्ने गरी लुम्बिनी समानान्तर जेभी काठमाडौंसँग १६ जेठ २०७७ मा ठेक्का सम्झौता भएकामा हाल सम्म ती खोलाको डिजाइन स्वीकृति हुन सकेको छैन । 

 

त्यसैगरी दोस्रो प्याकेजअन्तर्गत आमा खोला, मौवासी खोला, असारी खोला र खैराहा झोडा खोला गरी ४ वटा खोलामा कुल ५० करोड ४१ लाख ७५ हजार ७ सय ५० रुपैयाँको लागतमा निर्माण गर्ने गरी शर्मा लामा जेभी काठमाडौं सीतापाइलासँग १५ जेठ २०७७ मा ठेक्का सम्झौता गरिए पनि काम भने अझै सुरु हुन नसकेको इन्जिनियर तिम्सिनाले बताए ।

 

तेस्रो प्याकेजभित्र पर्ने ज्यामिरे खोला, लामा खोला र सुन्दरी खोलाका लागि कुल ३७ करोड ९१ लाख ३० हजार ७ सय रुपैयाँको लागतमा काम सम्पन्न गर्ने गरी सपना हिमदुङ एन्ड ठोकर निर्माण कम्पनीसँग सोही मितिमा ठेक्का सम्झौता भएअनुसार हाल लामा खोला र ज्यामिरे खोलामा पुल निर्माण धमाधम भइरहेको तथा सुन्दरी खोलाको समेत डिजाइन स्वीकृत भइसकेको इन्जिनियर तिम्सिनाको भनाइ छ ।

 

निर्माण कम्पनी आफैंले डिजाइन तयार पार्नुपर्ने र त्यसरी तयार पारिएको डिजाइनलाई सडक विभागबाट स्वीकृति दिइएपछि मात्रै पुल निर्माणको काम सुरु हुने सम्झौतामा उल्लेख छ ।

 

फरक–फरक कम्पनीलाई काम बाँडेर दिँदा छिटो र गुणस्तरीय काम हुने विश्वासमा ३ प्याकेजमा ठेक्काको काम गरिएको इन्जिनियर तिमल्सिनाले बताए । 

 

लोकमार्गअन्तर्गत धरान–चतरा–गाईघाट–सिन्धुली–हेटौंडा ३१८ किलोमिटर सडक खण्डको निर्माण २०६४÷६५ देखि नै सुरु भएको हो । 

 

लोकर्मागलाई उदयपुरको चौदण्डीगढीस्थित वीरेन्द्रचोकदेखि सिन्धुलीको भीमानसम्मको १३४ किमिलाई पूर्वी र भीमानदेखि हेटौंडासम्मको ११६ किमि सडकलाई पश्चिमी खण्डमा विभाजन गरी निर्माण गरिँदै आएको छ । 

 

दुवै खण्डमा सडक र पुलको फरक–फरक ठेक्का लगाई काम भइरहेको सडक आयोजना कार्यालयले जनाएको छ । पूर्वी खण्डमा सडकको काम जेआईडेसी, शर्मा÷लामा जेभी र पुलको काम सीओभीआईसी–रसुवा÷तुन्डी जेभीले गरिरहेका छन् ।

 

पूर्वी खण्डमा सडकतर्फ ६ अर्ब ५४ करोड र पुलतर्फ ३ अर्ब २५ करोड रुपैयाँ बराबरको ठेक्का लागेको हो । लोकमार्ग गत माघमै निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि कोभिड–१९ महामारीलगायत विभिन्न कारण देखाउँदै अझै काम पूरा भएको छैन ।

 

मदन भण्डारी लोकर्माग योजना कार्यालय गाईघाटका सूचना अधिकारी इन्जिनियर शंकर पौडेल सरकारले पहिलो प्राथमिकतामा राखेकै कारण लोकमार्गको काम तीव्र गतिमा भएको दाबी गर्छन् ।

 

अहिलेसम्म लोकर्मागको पूर्वी खण्डको भौतिक र आर्थिक प्रगति करिब शतप्रतिशत पूरा भइसकेको उनले बताए । ‘तर, पहिलो चरणमा छुटेका १२ वटा पुलको काम भई नसकेकाले लोकमार्गको पूर्वी खण्ड पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन,’ पौडेलले भने, ‘त्यसमध्ये लामा खोला र ज्यामिरे खोलामा पुल निर्माण भइरहेको छ ।’

 

सुन्दरी, खैरा, असारी, मौवासी, अर्ना खोलामा मनसुनपछि तुरुन्तै काम सुरु हुने उनको भनाइ छ । पँधेरे, थनाह, सुनखानी वडा नम्बर २, रातु र धप्परमा पुलको डिजाइन स्वीकृत हुन बाँकी रहेको उनले बताए । 

 

बेल्टार–गाईघाटको २० किमिको दूरी झन्डै ३० मिनेटमा पार गर्न सकिने ठाउँमा असारी, झोरा, ज्योमिरे खोलामा पुल निर्माण नहुँदा घन्टै बिताउनुपर्ने चौदण्डीगढी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार खड्काले बताए ।

 

वारिपारि कालोपत्र सडक भए पनि बीचमा पर्ने खैराहा खोलामा पुल नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । ‘लोकमार्गको अधिकांश भाग कालोपत्रे भएको छ,’ खड्काले भने, ‘तर, पुल नहुँदा सर्वसाधारणले दुःख भोग्नु परिरहेको छ । सडक कालोपत्रे भयो भनेर आउनेहरू खोला तर्न नसक्दा समस्यामा पर्ने गरेका छन् ।’