close

खुल्यो बेँसीशहर–चामे सडक

खुल्यो बेँसीशहर–चामे सडक

Trulli
ADVERTISEMENT

लमजुङ– अविरल वषासँगै गएको बाढीपहिराले केही समयदेखि अवरुद्ध बेँसीशहर चामे सडक पुनः सञ्चालनमा आएको छ । पहाडी र हिमाली जिल्ला जोड्ने यस सडकको विभिन्न स्थानमा बाढीपहिराले अवरुद्ध बनाएको सडक खुलाएसँगै सवारी साधन पुनः सञ्चालनमा आएको डुम्रे बेँसीशहर चामे सडक योजना कार्यालय लमजुङका इञ्जिनीयर हरि श्रेष्ठले बताए । 

 

अविरल वर्षासँगै विभिन्न स्थानमा बाढीपहिराले सडक अवरुद्ध बनाउँदा यही कात्तिक २ गते बिहानबाट लमजुङ मनाङ जोड्ने एक मात्र सो सडकखण्ड अवरुद्ध हुँदै आएको थियो । सो समयमा यस सडकखण्डको खरखरे भीर, नियालोघारी, दाना क्यू, कोत्रो, तिमाङ खोला, तिमाङ झरनालगायत स्थानमा बाढीपहिराले सडक अवरुद्ध भएको थियो । 

 

तिमाङ झरना र खोलामा राखिएको काठे पुल बगाएको थियो भने अन्य स्थानमा बाढीपहिराले सडक बगाउनुका साथै ढुङ्गा माटोले अवरुद्ध बनाएको थियो । सबै स्थानको अवरोध हटाएर अन्तिममा तिमाङ झरनामा तीन दिन लगाएर काठे पुल राख्ने कार्य सम्पन्न भएसँगै सवारी सञ्चालनमा आएको इञ्जिीनियर श्रेष्ठले बताए । 

 

उनले भने, ‘अवरुद्ध भएको उक्त दुई स्थानमा काठेपुल राखिएको छ भने अन्य स्थानमा डोजरको सहायताले सडक खुलाइएको छ ।’ सडक अवरुद्ध बनेपछि  दसैँ पर्व मनाएर रोजगारी, अध्ययनलगायत गन्तव्यमा जाने रोकिएका थिए । मनाङमा आवश्यक ढुवानीका सामग्री, खाद्यान्न, लत्ताकपडा, औषधिलगायत सामग्री लैजान यतिबेला सडक सुचारु भएसँगै सहज भएको छ । यस अघि समेत दशैँ आउनु केही दिन अघिबाट मात्र सवारी सञ्चालनमा आएको थियो । गत असार १ गतेदेखि बाढीपहिराले अवरुद्ध बनाएको यस सडक यस अघि गत असोज २० गतेदेखि सञ्चालनमा आएको थियो ।