close

जथाभावी सडक कोतरिँदा चिराचिरा परे पाँचथरका गाउँबस्ती 

जथाभावी सडक कोतरिँदा चिराचिरा परे पाँचथरका गाउँबस्ती 

Trulli
ADVERTISEMENT

पाँचथर–पाँचथरका स्थानीय तह नगरपालिका, गाउँपालिका र वडाहरूले योजनाबिनै सडक निर्माण गर्दा गाउँबस्ती पहिरोको उच्च जोखिमका साथै चिराचिरा परेका छन् । सडक कोतरिँदा किराती समुदायले आस्थाको रूपमा पुज्दै आएका देवीदेउरालीको कन्तविजोग भएको छ । 

 


भौगोलिक वस्तुस्थिति र सामाजिक सद्भावलाई ध्यानै नदिई घरघर सडक पु¥याउने होडले पूर्वका अधिकाश गाउँ माथिल्लो र तल्लो टोल, वल्लो र पल्लो टोलमा बाँडिएका हुन् । गाउँको पहिचानका रूपमा रहेका देवीदेउराली, पाटीपौवा र तिनलाई आड दिने सदियौँ पुराना रुख मासिँदै गएका छन् । सडक विकासले गाउँघर गुल्जार हुनुपर्नेमा उजाड बन्दै गएका छन् । 

 


विशेषगरी ०४० को दशकदेखि उच्च शिक्षाको लागि सहर प्रवेश, रोजगार खोजीमा विदेश पलायन र त्यसले भित्र्याउने पश्चिमा संस्कृतिको प्रभावमा युवा पुस्ता बहकिएकाले गाउँघरको यस्तो दुर्गति भएको लिम्बू प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ राजेन्द्रकुमार जवेगु बताउँछन् । उनी थप्छन्, ‘युवाहरू गाउँमै छैनन् । भएकाहरू पनि कुनै न कुनै दलका कार्यकर्ता छन् । उनीहरू नै उपभोक्ता समितिमा छन् अनि कसले विरोध गर्ने ? यो क्रम नरोकिए अबको १० वर्षमा देवीदेउराली त के गाउँघरै पहिरोले उजाड बन्न सक्छन् ।’

 


पहिले वल्लो गाउँ, पल्लो गाउँका तन्नेरीहरू सामाजिक सद्भावसहित देवीदेउराली र पाटीपौवामा धान नाच्दै जीवनको युवावस्था गुजार्दै आए पनि अहिले ती सम्पदा लोप भइसकेको फिदिम नगरपालिका वडा नम्बर ६ का ८० वर्षीय देउमान तुम्रोक बताउँछन् । उनले भने, ‘अहिले न धाननाच छ, न त देवीदेउराली, पाटीपौवा नै ।’ स्थानीय तहले चुनावी विकास रोकेर विनास होइन, साँच्चिकै विकास ल्याउन जरुरी रहेको उनको भनाइ छ ।