close

वालिङमा लेदो व्यवस्थापन प्लान्ट सञ्चालनमा

वालिङमा लेदो व्यवस्थापन प्लान्ट सञ्चालनमा

Trulli
ADVERTISEMENT

वालिङ– वालिङ नगरपालिकाले निर्माण गरेको लेदो व्यवस्थापन प्लान्ट सञ्चालनमा आएको छ । दिसाजन्य लेदो व्यवस्थापन सहरी क्षेत्रमा चुनौतिकोरुपमा देखापरिरहेका बेला वालिङमा त्यसको व्यवस्थापनका लागि प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।

 

घर–घरमा रहेका सेफ्टी ट्याङ्की भरिएपछि बाहिरी खुल्ला ठाउँमा लगेर आफूखुसी फाल्ने गरेका कारण ढल, खोलानाला तथा पानीका स्रोत प्रदूषित हुन गएकाले त्यसको उचित व्यवस्थापनका लागि प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याइएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।

 

‘घरमा रहेका सेफ्टी ट्याङ्की दिसाजन्य लेदो भण्डारण गर्ने ट्याङ्की मात्रै हुन्, त्यो भरिएपछि फाल्नका लागि समस्या थियो’, उनले भने, ‘अब नगरपालिकाले सञ्चालनमा ल्याएको प्लान्टमा सस्तो र सहजरुपमा व्यवस्थापन गर्न सकिने भएको छ ।’ नगरपालिकाले सञ्चालन गरेको प्लान्टबाट बायोग्यास र कम्पोष्ट मल बनाउनुका साथै त्यहाँबाट निस्केको पानीलाई प्रशोधन गरेर पुनः प्रयोग गर्न मिल्ने बनाइएको छ ।

 

नगरपालिकाले नेपाल नगरपालिका सङ्घसँग समन्वय गर्दै एन्फो संस्थाको प्राविधिक डिजाइन सहयोग, राष्ट्रिय योजना आयोग, सङ्घीय मन्त्रालय, सिटी नेट, एसप्याक, युएनडिपी र बिलगेट्स एण्ड मेलिन्दा फाउण्डेशनको सहयोगमा एकीकृत फोहर व्यवस्थापन कार्यक्रमअन्तर्गत प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याएको हो ।

 

‘प्लान्टबाट आधुनिक कम्पोष्ट मल बनाउने, बायोग्यास निकाल्ने र पानीलाई प्रशोधन गरी पुनः प्रयोग गर्न सकिने बनाउछौं’, उनले भने, ‘सञ्चालनमा आएको यो प्लान्ट एकीकृत फोहरमैला व्यवस्थापनका क्षेत्रमा नगरपालिकास्तरमा नेपालकै पहिलो हो ।’

 

दिसापिसाबको व्यवस्थित सङ्कलनदेखि सुरक्षित विसर्जनसम्मको चरणबद्ध प्रक्रिया सरसफाइ प्रणाली हो । यो प्रणालीअन्तर्गत सङ्कलन, भण्डारण, रित्याउने र ढुवानी गर्ने, प्रशोधन र पुनः प्रयोग वा सुरक्षित विसर्जन रहेको वालिङ नगरपालिकाका इञ्जिनीयर दीपेन्द्र मल्लले बताए । ‘घर घरमा निर्माण भएका सेफ्टी ट्याङ्की भरिएपछि त्यसको विसर्जनका लागि समस्या थियो’, इञ्जिनीयर मल्लले भने, ‘नगरपालिकाले प्लान्ट सञ्चालन गरेसँगै निजी व्यवसायीबाट भन्दा सस्तो शुल्कमा त्यसको उचित व्यवस्थापन गर्न थालिएको छ ।’

 

नगरपालिकालाई ६ हजार ५०० शुल्क तिरेपछि ट्याङ्की खाली गरिदिने गरेको इञ्निनियर मल्लले बताए । घर–घरमा निर्माण भएका सेफ्टी ट्याङ्की खाल्डो भरिएपछि खाली जमिन, खेतबारी, जङ्गलमा ट्याङ्करमार्फत विसर्जन गरिँदै आएकामा प्लान्ट सञ्चालनमा आएसँगै थप व्यवस्थित भएको इञ्जिनीयर मल्ल बताउँछन् । घर घरमा रहेका सेफ्टी ट्याङ्की भरिएपछि व्यवस्थापनमा निक्कै समस्या हुने गरेकोमा नगरपालिकाले उठाएर त्यसको उचित व्यवस्थापन गर्ने थालेपछि सहज भएको वालिङ ८ कटौँजेका शिवप्रसाद पाण्डेले बताए ।

 

‘निजी व्यवसायीबाट यसअघि ट्याङ्की खाली गर्दा महँगो र मनपरी दरट थियो”, पाण्डेले भने, ‘एकलौटी व्यवसाय हुँदा महँगो पर्न गए पनि अब नगरपालिकाले सञ्चालन गरेपछि सस्तो र सहज हुने भएको छ ।’ नगरपालिकाले फोहरमैंला व्यवस्थापनका क्षेत्रमा देशभरमै उत्कृष्ट स्थान प्राप्त गरी पुरस्कृत भएसँगै वालिङमा बाहिरी जिल्ला, नगरपालिका तथा विभिन्न सङ्घ संस्थाबाट अध्ययन अवलोकन भ्रमणका लागि आउने गरेका छन् ।