close

परासी र सुनवल औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति व्यवधान हट्यो

परासी र सुनवल औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति व्यवधान हट्यो

Trulli
ADVERTISEMENT

काठमाडौं–नवलपरासीको परासी र सुनवल औद्योगिक क्षेत्रका उद्योगले बेहोर्दै आएको विद्युत् आपूर्ति समस्या समाधान भएको छ । नेपाल विद्युत् प्राधिकरणले गण्डक–परासी ३३ केभी डबल सर्किट र बुटवल–ज्यामिरे (सुनवल) ३३ केभी सिंगल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ ।

 

दुवै प्रसारण लाइन सञ्चालनमा आएसँगै परासी र सुनवल औद्योगिक क्षेत्रका विद्युत् आपूर्ति समस्या समाधान भई उद्योगलाई मागअनुसार विद्युत् दिन सकिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 

 

‘प्रसारण क्षमताले नधानेर पर्याप्त विद्युत् आपूर्ति हुन नसक्दा त्यस क्षेत्रका उद्योगले गर्मी मौसमका दिनमा केही समय आलोपालो चलाउनुपर्ने वाध्यात्मक अवस्था थियो । अब यस्तो अवस्थाको अन्त्य भई उद्योगलाई मागअनुसार पर्याप्त विद्युत् सकिन्छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘सुनवल क्षेत्रमा सञ्चालित उद्योगलाई विद्युत आपूर्तिका लागि १३२÷३३ केभी सुनवल सबस्टेसन निर्माणाधीन छ, सबस्ेटसन निर्माण आगामी चैत-वैशाखभित्र सकिनेछ । त्यसपछि त्यहाँबाट थप ९० मेगावाट विद्युत् उद्योगलाई दिन सकिन्छ भने आपूर्ति पनि अझै विश्वसनीय र गुणस्तरीय हुनेछ ।’ 

 

केही महिनाअघि त्यस क्षेत्रको भ्रमण गरी घिसिङले सुनवल क्षेत्रका उद्योगलाई लक्षित गरी बुटवल–ज्यामिरे प्रसारण लाइन तत्काल निर्माण अगाडि बढाउन प्राधिकरण प्रादेशिक कार्यालय, बुटवल र बुटवल ग्रिड महाशाखालाई निर्देशन दिएका थिए ।१९ किलोमिटर सिंगल सर्किट प्रसारण लाइन निर्माण दुई महिनाभित्रै सम्पन्न गरी सञ्चालनमा ल्याइएको प्रादेशिक कार्यालय बुटवलका निर्देशक नवराज ओझाले बताए । 

 

सुनवल क्षेत्रमा लक्ष्मी स्टिल, पाल्पा सिमेन्ट, सर्वोत्तम सिमेन्टलगायत उद्योग सञ्चालित छन् । ती उद्योगले आफ्नो क्षमता वृद्धिका लागि थप विद्युत् माग गरेका छन् भने त्यस क्षेत्रमा अन्य नयाँ उद्योग खुल्ने क्रममा छन् । 

 

प्राधिकरणले गण्डकमा रहेको १३२÷३३ केभी सबस्टेसनबाट परासीसम्म २७ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरेको हो । ‘अब गण्डक परासीमा रहेको पुरानो र अहिले निर्माण गरिएको दुईसहित ३३ केभीका तीन वटा सर्किटबाट विद्युत आपूर्ति दिन सकिनेछ । विद्युत् अभावमा परासी क्षेत्रका उद्योग अब आलोपालोमा चल्नुपर्दैन’, निर्देशक ओझाले भने ।

 

बर्दघाटबाट १३२ केभी प्रसारण लाइनका साथै आवश्यक परे भारतबाट समेत गरी गण्डक सबस्टेसनमा विद्युत् आपूर्ति हुने उनले बताए । प्राधिकरणले मुलुकमा उत्पादित विद्युत् आन्तरिक रूपमै खपत बढाउन अल्पकालीन र दीर्घकालीन योजनासहित प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण तथा पूर्वाधार विस्तारलाई अभियानकै रूपमा चलाइरहेको छ । 

 

प्राधिकरणको अल्पकालीन योजनाअन्तर्गत विद्युत् माग गरेका उद्योगलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत् दिने र निर्माणाधीन आयोजनाको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ । दीर्घकालीन योजनाअन्तर्गत विद्युत् खपत बढ्न सक्ने सम्भावित ठाउँको पहिचान गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण सुरु गरिनेछ ।