close

भैरहवामा होल्डिङ सेन्टर बन्दै

भैरहवामा होल्डिङ सेन्टर बन्दै

Trulli
ADVERTISEMENT

बुटवल–रुपन्देहीको भैरहवा क्षेत्रमा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण र उपचारका लागि होल्डिङ सेन्टर निर्माण हुने भएको छ । सेन्टर निर्माणका लागि सिद्धार्थनगर नगरपालिका–२ स्थित करिब दुई बिघा जग्गा सिफारिस गरेर रक्षा मन्त्रालय र नेपाली सेनालाई पत्राचार गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । ‘हामीले जग्गा सिफारिस गरेर पत्राचार गरिसकेका छौँ, अब  होल्डिङ सेन्टरको विषय टुङ्गो लागिसकेको छ’, उनले भने । प्रजिअ तिवारीले अब केही दिनबाटै होल्डिङ सेन्टर निर्माणको काम सुरु हुने उल्लेख गर्दै कामका लागि समन्वय भइरहेको बताए ।

 

सो सेन्टर एक हजार जना अट्ने क्षमताको हुने छ । होल्डिङ सेन्टर निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । लुम्बिनी प्रदेशमा सङ्घीय सरकार र नेपाली सेनाले रुपन्देही, कपिलवस्तु र बाँकेमा गरी तीन स्थानमा होल्डिङ सेन्टर निर्माणको काम गर्ने निर्णय भएको थियो । बाँके र कपिलवस्तुमा होल्डिङ सेन्टर निर्माणको काम भइरहेको पनि रुपन्देहीमा जग्गा व्यवस्थापन नहुँदा होल्डिङ सेन्टरले गति लिनसकेको थिएन । होल्डिङ सेन्टरको काम कपिलवस्तुमा ८२ प्रतिशत भौतिक र ५५ प्रतिशत आर्थिक प्रगति भएको नेपाली सेनाले जानकारी दिएको छ । बाँकेको जमुनाहानाकामा एक हजार क्षमताको सेन्टर बनेको र अहिले ३०० जना राख्न सकिने बताइएको छ ।

 

भारतबाट स्थलमार्ग हुँदै तोकिएको नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिलाई  प्रवेश नाकामा होल्डिङ सेन्टर निर्माण गरी कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले सो अवधारणा ल्याएको हो । लुम्बिनी प्रदेशमा करिब ६० प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । नयाँ भेरियन्टपछि पाँच हजार ५२८ जना प्रदेशमा सङक्रमित भएको र पाँच हजार ३६ जना होमआइसोलेशन, ५० जना संस्थागत आइसोलेशन, ३३ जना आइसीयू र एक जना भेन्टिलेटरमा छन् ।