close

अरुण नदीको बेलिब्रिज भाँचियो, तीनवटा ट्रक नदीमा खसे

अरुण नदीको बेलिब्रिज भाँचियो, तीनवटा ट्रक नदीमा खसे

Trulli
ADVERTISEMENT

खाँदबारी– सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । शनिबार दिउँसो निर्माण सामग्री बाकेको ‘लो वेट’ ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए । 

 

प्रजिअ खतिवडाका अनुसार निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामग्री लिएर गएको तीनवटा ट्रक पुल भाँचेपछि अरुण नदीमा खसेको बताए । ट्रकमा सवार चालक र सहचालक भने सकुशल नै रहेको मकालु गाउँपालिका–५ का कार्यपालिका सदस्य पुरन याम्फुले बताए । 

 

अरुण नदीको बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको कार्यपालिका सदस्य याम्फुले बताए । पुलको  क्षमताभन्दा बढी सामग्री बोकेर एकै पटक तीनवटा ट्रक तर्ने क्रममा पुल  भाँचिएको कार्यपालिका सदस्य याम्फुले बताए । तीनवटै ट्रक हाइड्रो पावरको निर्माण सामग्री लिएर वालुङतर्फ गएको  याम्फुले बताए । 

 

पुलको मध्यभाग भाँचिएपछि पुलमा रहेका तीनवटै ट्रक नदीको बीचमा पुलमा अल्झिएको अवस्थामा रहेको उनले बताए । चालक र सहचालकलाई भने स्थानीयले उद्धार गरेका छन् ।  २०७५ सालमा इप्सुवा हाइड्रपावरले अरुण नदीमा निर्माण सामग्री लैजान बेलिब्रिज निर्माण गरेको हो ।