close

वडाअध्यक्षदेखि मेयरसम्म योजना माग्न मन्त्रालय आउनु दुखद् : मन्त्री झाँक्री

वडाअध्यक्षदेखि मेयरसम्म योजना माग्न मन्त्रालय आउनु दुखद् : मन्त्री झाँक्री

Trulli
ADVERTISEMENT

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले वडा अध्यक्ष देखि मेयरसम्म संघीय सरकारको मन्त्रालयमा योजना माग्न आईपुग्नुले वित्तीय संघीयतामाथी नै प्रश्न उठेको बताएकी छिन् । मन्त्री झाँक्रीले आफु मन्त्री भएको साँढे चार महिनाकोबीचमा ५ लाख देखि ५० लाखसम्मका योजनाका लागि साँढे १६ अर्बको योजना माग आएको बताइन् । 

 

ऋण लगानीमा पूर्वाधार, समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ ३४ औं बार्षिकोत्सव मनाईरहेको नगर विकास कोषको कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले मन्त्रीले आयोजना बाँडेर चुनाव जित्ने संस्कारको अन्त्य गर्नुपर्ने बताईन् । 

 

मन्त्री झाँक्रीले पूर्वाधार हेर्ने मन्त्रालय एउटै हुनुपर्ने भन्दै शहरी पूर्वाधारमा लगानी गर्ने गरी कोषलाई शहरी पूर्वाधार विकास निगममा रुपान्तरण गर्न ढिलो नगर्ने प्रतिबद्धता समेत जनाईन् । 

 

कार्यक्रममा नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले नगरपालिकामा १३ सय भन्दा बढी पूर्वाधारमा लगानी गरिएको बताएका छन् । हाल ८८ वटा नगरपालिकामा ५ अर्ब र १०० भन्दा बढी खानेपानी आयोजनामा १० अर्ब भन्दा बढी लगानी रहेको कार्यकारी निर्देशक सापकोटाले बताए । 

 

नगर विकास कोषले सन् २०२० देखि लागू गरेको ४ बर्षे व्यवसायिक योजनाभित्र रहेर नगरपालिकाहरुको क्षमता विकास गर्दै प्राविधिक सहयोग तथा आयोजना व्यवस्थापनमा सहजीकरण गरिरहेको छ । 

 

कोषले ग्रिन क्लाईमेट फण्ड भित्र्याउँदै ५ देखि ३० अर्बसम्मका आयोजनामा लगानी गर्ने अवस्था बन्ने भन्दै कार्यकारी निर्देशक सापकोटाले प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । कोषले काठमाडौं उपत्यकामा शहरी पार्किङ व्यवस्थापनका लागि बहुतले पार्किङको योजना अगाडि सारेको कार्यकारी निर्देशक सापकोटाले बताए ।  

 

बार्षिकोत्सवका अवसरमा कार्यकारी निर्देशक सापकोटाले कोषको पुर्नसंरचना गरी न्यूनतम २० अर्ब रुपैयाँको इक्यूटि क्यापिटल पुर्याउँदै शहरी पूर्वाधार विकास निगममा रुपान्तरण हुने अपेक्षा व्यक्त गरे । 

 

प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले स्थानीय सरकारलाई आन्तरिक राजश्व र प्राप्त अनुदानको कुल योगफलको १२ प्रतिशत भन्दा नबढ्ने गरी ऋण लिन सिफारिस गरिएको बताए । तर, स्थानीय सरकारले कानून र संरचनागत जटिलताका कारण पर्याप्त ऋण लिन नसकेको भन्दै अध्यक्ष पौडेलले गाउँभित्रका शहरमा पनि लगानी बढाउन कोषलाई आग्रह गरे । 

 

कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदम कुमार मैनालीले फोहोर व्यवस्थापन तथा पानीका मुहान संरक्षण, शहरी विकास लगायतका क्षेत्रका योजना, ज्ञान र शिप विकासमा कोषसँग सहकार्य गर्न सकिने बताए । 

 

कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले लगानी बढाउँदै आर्थिक क्षमता बढाउन कोषलाई आग्रह गरे । 

 

नगर विकास कोषको स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष जगत प्रसाद घिमिरेले अन्य सरकारी निकायभन्दा न्यून सुविधा भएकाले कर्मचारीलाई निरुत्साहित हुन नदिन शहरी विकास मन्त्री, सचिव र कार्यकारी निर्देशकलाई ध्यानाकर्षण गराए । 

 

कार्यक्रममा नगरपालिकातर्फ उत्कृष्ट हेटौंडा उपमहानगर र हरिवन नगरपालिका तथा खानेपानी आयोजनातर्फ उत्कृष्ट झापाको विर्तामोड खानेपानी उपभोक्ता समिति र अछामको शितलपाटी खलंगा खानेपानी उपभोक्ता समितिलाई सम्मान गरिएको थियो । कार्यक्रममा कोषका पूर्व अध्यक्ष मधुसुदन अधिकारीलाई समेत सम्मान गरिएको थियो । सम्मानित भएपछि पूर्व अध्यक्ष अधिकारीले कोषको लगानी क्षमता बढाउन सरकारसँग आग्रह पनि गरे । 

 

बार्षिकोत्सवका अवसरमा कोषमा २५ बर्षदेखि कार्यरत अधिकृत मानबहादुर पुनलाई ५० हजार नगद सहित सम्मान गर्दै कार्यकुशलताको प्रसंशा गरिएको छ । त्यस्तै, कार्यकारी निर्देशकको सचिवालयमा कार्यरत हरकुश बोहोरा समेत उत्कृष्ट कर्मचारी बनेका छन् । 

 

बार्षिकोत्सवका अवसरमा भएको फुटसल प्रतियोगितामा उत्कृष्ट भएको मानव संशाधन विकास शाखाका प्रमुख सूर्यबहादुर कार्कीको समूह, उत्कृष्ट खेलाडी राकेश सिग्देल र उत्कृष्ट गोलकिपर मानबहादुर गुरुंग पुरस्कृत भए ।