close

गाउँपालिका र विकास बेल्जियमको साझेदारीमा विद्यालय भवन निर्माण

गाउँपालिका र विकास बेल्जियमको साझेदारीमा विद्यालय भवन निर्माण

Trulli
ADVERTISEMENT

पर्वत । पालिका र विदेशी संस्थाको साझेदारीमा जलजला–३ मल्लाजस्थित बिद्याज्योति माध्यमिक विद्यालयमा कक्षा कोठाको थप गर्न भवन निर्माण गरेको छ ।  

विकास बेल्जियम र जलजला गाउँपालिकाको साझेदारीमा रु एक करोड ६० लाखको लागतमा दश कोठे दुई तले कक्षा कोठा भवन बनाइएको हो ।

विकास बेल्जियमका स्थानीय समन्वयकर्ता टेकबहादुर बरुवालले बिद्यालयको भवन बनाउन संस्थाले गाउँपालिकालाई रु एक करोड २९ लाख ७८ हजार १५६ उपलब्ध गराएको जानकारी दिए । 

“विकास वेल्जियमको ७५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशत लागत साझेदारीमा एक वर्षअघि थालिएको भवन निर्माणको काम सकिएको छ,” उनले भने “सम्झौता अनुसार संस्थाले गाउँपालिकालाई सहयोग उपलब्ध गराइसकेको छ ।”

रु दुई करोड १३ लाख ९५ हजार ७६२ लागत अनुमान गरिएको भवन निर्माणका लागि विसं २०७८ साउन ५ गते त्रिशक्ति कन्ट्रक्सन इन्जिनियरीङले करसहित रु एक करोड ६० लाख ७२ हजार ९७२ मा ठेक्का सम्झौता गरेको थियो । 

पुरानो भवन जीर्ण भएपछि नयाँ भवन निर्माणका लागि गाउँपालिका र विकास बेल्जियममा डिपिआर तयार पारेर प्रस्ताव गरिएको थियो । प्रधानाध्यापक रघुनाथ आचार्यका अनुसार कक्षा १२ सम्मको पठनपाठन हुने बिद्यालयमा दुई सय ७० जना भन्दा बढी बिद्यार्थी छन् । 

बिसं २००४ मा स्थापना भएको बिद्याज्योति धवलागिरि क्षेत्रकै पुरानो बिद्यालय मानिन्छ ।

विकास बेल्जियमले यसअघि धवलागिरि गाउँपालिकाका–७ मा ताकम माध्यमिक विद्यालयको भवन र बेनीको कालीपुलदेखि डिलफाँट हुँदै मल्लाजसम्म पदमार्ग निर्माण गरेको थियो । तीन चरणमा रु ८६ लाख नौ हजार दुई सय ५२ को लागतमा एक हजार नौ सय ५२ मिटर पक्की पदमार्ग निर्माण हो ।

ठाडो भिरको उकालोमा सिँढी र रेलिङसहितको पदमार्ग निर्माण भएपछि बेनी बजारका साथै बगरफाँट वारिवेनी, जलजला गाउँपालिकाको बाँसखर्क, मल्लाज, लेकफाँट र नागीका बासिन्दालाई आवतजावतमा सहज भएको छ ।