close

काठमाडौंको पथमा लहान : फुटपाथ ‘क्लियर’ बनाउँदै

काठमाडौंको पथमा लहान : फुटपाथ ‘क्लियर’ बनाउँदै

Trulli
ADVERTISEMENT

सिराहा - लहान नगरपालिकाले बजार क्षेत्रको अतिक्रमित सडक तथा फुटपाथलाई खाली गराउन सुरु गरेको छ । यसअघि नगरपालिकाले ३५ दिने सूचना जारी गरी अतिक्रमित सडक पेटी खाली गराउन आह्वान गरेको थियो । 

पैदल यात्रुको आवागमनमा अवरोध हुने गरी व्यापारीले सडक पेटी तथा फुटपाथ प्रयोग गरिएपछि नगरपालिकाले ट्राफिक प्रहरीको समेत समन्वयमा फुटपाथ ‘क्लियर’ बनाउने अभियान थालनी  गरेको हो । ढल तथा नालामाथिको फुटपाथमा ठेला राख्ने, पसलेले सामान/बोर्ड/मोटरसाइकल राख्ने गर्नाले सवारी तथा सर्वसाधारणको आवागमनमा कठिनाइ हुने गरेको थियो । 

नगरपालिकाका उपप्रमुख रामचलितर महतोले बजार क्षेत्रलाई सफा र सुन्दर नगर बनाउनको लागि सडक पेटीको अतिक्रमण हटाउन सुरु गरेको जानकारी दिए । 'सडक पेटीलाई अतिक्रमण गरी व्यापारीले पसल सञ्चालन गर्नुका साथै भौतिक संरचनासमेत निर्माण गर्दा बजार क्षेत्रको सुन्दरतामा ह्रास आयो', उनले भने, 'बजार क्षेत्रको सडकमा सर्वसाधारणलाई हिँडडुल गर्नसमेत अप्ठेरो हुने गरेको गुनासो आएपछि अतिक्रमण गरिएको सडक पेटीलाई खाली गराउन सुरु गरिएको हो ।'

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिराहा लहानका प्रमुख डम्बरबहादुर पुरीले सडक तथा सडक पेटीमा व्यापारीको अनधिकृत संरचना हटाएपछि सवारी आवतजावतमा थप सहजता र सुरक्षित हुने जानकारी दिए।