close

वेदकोटमा पूर्वाधार निर्माणले गति लिएको छ : नगरप्रमुख चन्द

वेदकोटमा पूर्वाधार निर्माणले गति लिएको छ : नगरप्रमुख चन्द

Trulli
ADVERTISEMENT

कञ्चनपुरको वेदकोट संघीयता कार्यान्वयनसँगै गाविसबाट नगरपालिका बनेको हो । गाविसबाट नगरपालिका भएको वेदकोटले विकास निर्माणमा नगरको अनुभूति दिलाउन नसकेको गुनासो वेदकोटबासी गर्छन् । वेदकोटका नगरप्रमुख अशोककुमार चन्दसँग जनप्रतिनिधिका रूपमा चार वर्ष काम गर्दाको अनुभव, विकास निर्माणमा भएका प्रगति, काम गर्दा आइपरेका कठिनाइ आदिबारे गरिएको कुराकानी : 

 

गाउँबाट नगर बनेपछि पनि वेदकोटको विकास निर्माणले खासै गति नलिएको जनगुनासो सुनिन्छ । विकास निर्माणका काम तीव्र गतिमा अघि बढाउन नगरपालिकालाई के–के कठिनाइ आइपर्‍यो ? 


ढिलै भए पनि नगरपालिका भएपछि विकास निर्माण भएन भन्ने गुनासो तपाईंबाट पहिलो पटक सुनेँ । नगरपालिकाको समग्र विकासका निम्ति २० वर्षको योजना बनाएर काम गरिरहेका छौँ । नगर यातायातको गुरुयोजना, पर्या–पर्यटन, शिक्षा, खेलकुद, स्वास्थ्यका क्षेत्रमा काम गरिरहेका छौँ । ९ वटा पक्की पुल निर्माणको काम सकिएको छ । चार वटाको काम चलिरहेको छ । पाँच वटा झोलुंगे पुल निर्माण सकिएको छ । तीन वटाको निर्माण अघि बढेको छ । नगरपालिकाको १० वटै वडाका मुख्य सडक कालोपत्रे गर्ने कुरामा जोड दिएका छौँ । कल्भर्ट निर्माण गर्ने कुरा, सुदूरपश्चिम प्रदेश जोड्ने ७ वटा जिल्ला जोड्ने वैकल्पिक मार्ग यहीबाट जाने भएकाले ०४ ६देखि नबनेको बाटोलाई लिप्ना क्षेत्रसम्म पाँच किलोमिटर मात्रै सडक कालोपत्रे गर्ने काम बाँकी छ । सडक, यातायातको क्षेत्रमा उल्लेख्य प्रगति गरेका छौँ । सडक ग्राभेल गरेका छौँ । 

 

वर्षभरि नै मोटर गुड्न सक्ने सडक कति किलोमिटर छ ? 


हामीले स्तरोन्नति गरेको ठाउँमा गाडी गुड्छ । कालोपत्रे गरेकामा पनि गाडी गुड्छ । एउटा बस्तीबाट अर्को बस्तीमा जाने चुनौतीपूर्ण अवस्थालाई चिर्दै अघि बढेका छौँ । सबै ठाउँमा पक्की पुल निर्माण गरेका छौँ । 

 

निर्वाचनका बेला गरिएका प्रतिबद्धता के–के पूरा हुन बाँकी छन् ? 


हामीले गरेका संकल्प र प्रतिबद्धताअनुसार सबै पूरा गरेका छौँ । हाम्रो सीमित स्रोत–साधनले भ्याएसम्म गरेका छौँ । संघीयताको अभ्यास भइरहे  पनि स्थानीय तहलाई अधिकार दिन नखोज्ने प्रवृत्ति देखिएको छ । हामीले निरन्तर गर्नुपर्ने काम गर्न सकेका छैनौँ । त्यसमाथि महामारीका कारणले कतिपय काम गर्ने योजना बनाए पनि ८० प्रतिशत मात्रै काम पूरा भएको छ । बाँकी समय पनि गर्नेछौँ । निर्माण व्यवसायीले दिएको समयसीमाभित्र काम नगर्दा कतिपय काम अझै पूरा हुन सकेका छैनन् । कर्मचारी र जनप्रतिनिधिमा पनि समस्या देखिएको छ । समन्वय र सहअस्तित्वअनुसार अघि बढ्न नसक्दा समस्या देखिएको छ । 

 

गाविसबाट नगरपालिका बनेका स्थानीय तहले भोग्नुपर्ने समस्या के–के रहेछन् ? 


कुनै किसिमको समस्या छैन । ज्येष्ठ नागरिकको भत्तालाई पनि हामीले घरदैलोबाटै दिने गरेका छौँ । हामीले बैंकबाटै त्यो रकम दिने गरेका छौँ । नदी कटानको समस्या न्यूनीकरण गर्ने काम गरेका छौँ । ८ करोड रुपैयाँ लगानी गरेर त्यो काम अघि बढिरहेको छ । प्रत्येक वर्ष सडक निर्माणको कुरामा हामीले बढी जोड दिएका छौँ । 

 

अन्त्यमा, कार्यकालको अन्तिम वर्षमा के–कस्ता योजना सम्पन्न गरेर नगरबासीलाई सुम्पिने तयारीमा हुनुहुन्छ ? 


हामीले ५० शय्याको नगर अस्पताल बनाउने योजना बनाएका छौँ । तर, यो गुरुयोजना भएकाले अहिले नै सम्पन्न भए पनि आधा काम भने यही कार्यकालमा सम्पन्न हुनेछ ।  कोल्ड स्टोर निर्माण गर्ने, शव वाहन सञ्चालन गरेका छौँ । हामीले निर्माण गरेका पक्की पुल, झोलुंगे पुल, खानेपानीका योजना, ६ वडामा प्रसूति सेवा, खेलुकद मैदान बनाउने कुरा सम्पन्न गरेर नगरबासीलाई सुम्पिन्छौँ ।