close

माओवादीमा पदाधिकारी संख्या १५ हुने

माओवादीमा पदाधिकारी संख्या १५ हुने

Trulli
ADVERTISEMENT

काठमाडौं– नेकपा (माओवादी केन्द्र) ले पदाधिकारीको सङ्ख्या टुङ्गो लगाएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले १५ सदस्यीय पदाधिकारी रहने निर्णय गरेको हो ।

 

शुक्रबारको बैठकले केन्द्रीय समितिमा १५ सदस्यीय पदाधिकारी हुने प्रस्ताव गरेको थियो । सोही प्रस्तावलाई आज बसेको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

 

उनका अनुसार अब १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुने भएको छ । पछिल्लो पटक माओवादी पनि बहुपदीय व्यवस्थामा जाने भएको हो । केन्द्रीय समितिको बैठकले पारित गरेको विधानअनुसार पार्टीमा एक जना अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने भएका छन् ।

 

यसअघि प्रथम राष्ट्रिय सम्मेलनको नाम दिएको माओवादीले शनिबार मात्रै त्यसलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको थियो । सो महाधिवेशनको आज दिउँसो ३ बजे प्रज्ञा–प्रतिष्ठानमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधिहरू काठमाडौँ आइसकेका छन् । मनोनीतसहित प्रतिनिधि एक हजार ६३१ जना रहने व्यवस्था गरिएको छ ।